भ्यानकुभरमा शनिबार राति फिलिपिनो समुदायले मनाइरहेको उत्सवमा एउटा कारले सडक महोत्सवमा भीडलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। घटनापछि क्यानेडियन फिलिपिनो समुदाय शोकमा डुबेको छ।
प्रहरीका अनुसार, ३० वर्षीय पुरुष संदिग्ध काई-जी एडम लोलाई दोस्रो-डिग्री हत्याको आठवटा मुद्दामा आरोप लगाइएको छ। घटनास्थलमा पक्राउ परेका संदिग्ध मानसिक स्वास्थ्य समस्याबाट ग्रसित रहेको प्रहरीले जनाएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आइतबार फिलिपिनो समुदायका सदस्यहरूसँग भेट गरेका थिए। आक्रमणको घटनास्थल नजिकै पीडितहरूको सम्झनामा मैनबत्ती बाल्ने र फूल चढाउने काम भइरहेको छ।
घटनाको विवरण अनुसार, दक्षिण भ्यानकुभरमा फिलिपिनोहरू लापु लापु दिवसको समुदायिक सडक पार्टीको लागि भेला भएका थिए। तर, स्थानीय समय अनुसार राति ८ बजेतिर एउटा कालो अडी एसयूभी (Audi SUV) ले ठूलो भीडलाई ठक्कर दिँदा खुसीयालीको माहोल त्रासदीमा परिणत भयो। प्रहरीका अनुसार चालक एक्लै थिए र उनले जानाजानी उक्त घटना गराएका थिए।
सन्दिग्ध लो भ्यानकुभरका बासिन्दा हुन् र उनी अदालतमा उपस्थित भइसकेका छन्। प्रहरीले थप आरोपहरू लाग्न सक्ने जनाएको छ। आक्रमणको कारण वा उद्देश्यबारे प्रहरीले थप जानकारी दिएको छैन, तर यो आतंकवादी कार्य नभएको बताइएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरू ५ देखि ६५ वर्ष उमेरका छन्। मृतकहरूको नाम सार्वजनिक गरिएको छैन। केही घाइतेहरूको अवस्था गम्भीर रहेको छ।
क्यानडामा करिब ९,२५,५०० फिलिपिनो मूलका नागरिकहरू छन्। फिलिपिन्स भारतपछि क्यानाडामा आप्रवासीहरूको दोस्रो ठूलो स्रोत हो।
घटनापछि लापु लापु महोत्सवका आयोजकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले घटनाका पीडितहरूलाई नबिर्सिने बताएका छन्।
क्यानडामा संघीय निर्वाचनको पूर्वसन्ध्यामा भएको यस घटनाले सार्वजनिक सुरक्षाबारे प्रश्न उठाएको छ।