बङ्गलादेशमा युएसएआइडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द भएपछि विकास क्षेत्रमा ठूलो संख्यामा रोजगारी गुमेको छ । ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् ।
एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी) की संयोजक जिनत आरा अफ्रोजले मङ्गलबार ढाकामा पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् ।
उनले लिखित वक्तव्य पढेर सुनाउँदै यी परियोजना र यससँग सम्बन्धित परियोजनाहरूमा काम गर्ने ५० हजारभन्दा धेरैले रोजगारी गुमाएका र देशले ७० करोड अमेरिकी डलर बराबरको विकास सहायता गुमाएको बताएकी छन् ।
उनले तत्काल एयूडीपीसँग वार्ता गरेर समस्याको समाधान खोज्न माग गरेकी छन् ।
यूएसएआईडी बङ्गलादेशले जनवरी २५ मा परियोजना कार्यान्वयन साझेदारहरूलाई पत्र लेखेर "एजेन्सीले अन्य देशहरूसँगै बङ्गलादेशमा करार, कार्य आदेश, अनुदान, सहकारी सम्झौता वा अन्य सहायता वा खरीद उपकरणहरू अन्तर्गत कुनै पनि काम तत्काल बन्द वा निलम्बन गर्ने घोषणा गरेको छ" भनेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय युएसएआइडीको आर्थिक सहयोगसम्बन्धी कार्यक्रम पुनरावलोकन गर्न सबै देशलाई दिइने विकास सहायता ९० दिनका लागि रोक्ने कार्यकारी आदेश जारी गरेका थिए ।