१ जेष्ठ २०८२ , बिहीबार

भारत-पाकिस्तान तनाव: अमेरिकाको दुवै देशलाई तत्काल तनाव कम गर्न आह्वान

News
२६ बैशाख, काठमाण्डौँ ।

भारत र पाकिस्तानबीच जारी तनावलाई लिएर अमेरिकी विदेश मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। दुवै देशलाई तत्काल तनाव कम गर्न आह्वान गर्दै अमेरिकाले युद्ध कुनै पनि समस्याको समाधान नभएको बताएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा बोल्दै हिंसा, सैन्य कारबाही र युद्ध तत्काल रोक्नुपर्नेमा जोड दिइन्। मध्यपूर्वमा भएका युद्धहरूले पनि समस्या समाधान नगरेको उदाहरण दिँदै ब्रुसले वार्ता र संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरिन्।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन्। सीएनएनका अनुसार रुबियोले दुवै नेतासँगको कुराकानीमा तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेका थिए। उनले भारत र पाकिस्तानबीचको प्रत्यक्ष वार्तालाई अमेरिकाले समर्थन गर्ने बताउँदै सम्बन्ध सुधारका लागि पहल गर्न आग्रह गरे।

पाकिस्तानी प्रधानमन्त्री शरीफसँगको वार्तामा रुबियोले पाकिस्तानले आतंकवादी समूहहरूलाई दिँदै आएको समर्थन रोक्न ठोस कदम चाल्नुपर्ने माग गरेका छन्। साथै, उनले वर्तमान द्वन्द्वमा नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन्।

भारतीय सरकारी स्रोतका अनुसार, भारतले अमेरिका र अन्य देशहरूलाई पाकिस्तानलाई आतंकवाद समर्थन बन्द गर्न दबाब दिन आग्रह गरेको छ।

यसअघि, अमेरिकी विदेशमन्त्री रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकरसँग टेलिफोन वार्ता गरेका थिए। सो क्रममा उनले पहलगाममा भएको आतंकवादी हमलाप्रति सहानुभूति व्यक्त गर्दै आतंकवाद विरुद्धको लडाईमा भारतसँग नजिकबाट काम गर्ने प्रतिबद्धता जनाएका थिए।