अमेरिकी आप्रवासन नीतिलाई परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको प्रयासलाई धक्का लाग्ने गरी एक न्यायाधीशले ट्रम्प प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन्।
सोमबार न्यायाधीशले दिएको आदेशले अपिल अदालतको फैसलाले लगाएको सीमाहरूलाई स्पष्ट पारेको छ। अदालतको फैसलाले ट्रम्प प्रशासनलाई शरणार्थी प्रवेश प्रणाली निलम्बन गर्न अनुमति दिएको थियो, तर संयुक्त राज्य अमेरिकाको यात्रा योजनाका साथ पहिले नै शरणार्थीको दर्जा प्राप्त गरेका मानिसहरूलाई स्वीकार गर्नुपर्ने उल्लेख गरेको थियो।
ट्रम्प प्रशासनले गत हप्ताको सुनुवाइमा जनवरीमा प्रणाली रोक्ने कार्यकारी आदेश जारी भएको दुई हप्ताभित्र यात्रा गर्न तालिका बनाइएका एक सय ६० जना शरणार्थीलाई मात्र प्रवेश गराउनुपर्ने तर्क गरेको थियो।
तर अमेरिकी जिल्ला न्यायाधीश जमाल ह्वाइटहेडले सोमबार उक्त दावीलाई खारेज गर्दै सरकारको व्याख्यालाई 'व्याख्यात्मक बेइमानी' को संज्ञा दिएका छन्। उनले अपिल अदालतको निर्णयमा उल्लेख नभएको कुरालाई पनि सरकारले देख्न खोजेको आरोप लगाए।
न्यायाधीश ह्वाइटहेडले सुरुमा शरणार्थी प्रवेश रोक्ने ट्रम्पको कार्यकारी आदेशलाई अवरुद्ध गरेका थिए। फेब्रुअरीमा उनले ट्रम्पको कार्यकारी आदेशले १९८० को शरणार्थी ऐन उल्लङ्घन गरेको फैसला सुनाएका थिए, तर उक्त फैसलालाई नवौँ सर्किट कोर्ट अफ अपील्सले खारेज गरिदिएको थियो।
ह्वाइटहेडले आफ्नो आदेशमा नवौँ सर्किटले दुई हप्ताको सीमा लगाउने उद्देश्य राखेको भए स्पष्ट रूपमा त्यसो गर्ने थियो भनी उल्लेख गरेका छन्।
यो मुद्दा यहुदी शरणार्थी गैर–लाभकारी एचआइएएस, क्रिश्चियन समूह चर्च वल्र्ड सर्भिस, लुथरन कम्युनिटी सर्भिसेस नर्थवेस्ट र धेरै व्यक्तिद्वारा दायर गरिएको थियो। ती गैरनाफामूलक संस्थाहरूले फेब्रुअरीमा दायर गरेको मुद्दामा आफ्नै देशमा भएका सबै सामान बेचेर यात्रा गर्न लागेका धेरै व्यक्ति ट्रम्पको आदेशका कारण अलपत्र परेको बताएका थिए।
शरणार्थी पुनःस्थापना अमेरिकी नागरिकताका लागि केही कानूनी मार्गहरूमध्ये एक थियो, जसलाई पूर्व राष्ट्रपति जो बाइडेनले अङ्गीकार गरेका थिए। बाइडेनले जलवायु परिवर्तनबाट प्रभावित व्यक्तिहरूलाई समावेश गर्न कार्यक्रमको योग्यता विस्तार गरेका थिए।
ट्रम्पको ह्वाइट हाउस अभियानमा आप्रवासीहरूका बारेमा कटुता देखिएको थियो। उनले निर्वासनको कडा कार्यक्रमलाई पनि अगाडि बढाएका थिए र आप्रवासीहरूलाई ल्याटिन अमेरिकाका देशहरूमा हातकडी लगाएर फर्काएका थिए।