२२ बैशाख २०८२ , सोमबार

म्याग्दीमा २२.५ मेगावाटको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा

News
२० बैशाख, काठमाण्डौँ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ।

आयोजना प्रमुख लोक बहादुर नायकका अनुसार बाँध, विद्युत्गृह र पाइप लाइन जडानको काम सकिएको छ। विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए।

"२०८२ को वैशाख महिनासम्म परीक्षण उत्पादन सुरु गर्ने कार्यतालिका थियो। तर बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक स्तरोन्नतिका कारण अवरुद्ध भएपछि प्रभावित बनेको छ", उनले भने, "सडकका कारण भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित विद्युत्गृहका उपकरण ढुवानी रोकिँदा जडान गर्न ढिलाइ भएको हो।"

सुगुर थलामा बाँध, डिसेम्बर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान गरिएको छ। फेदीमा विद्युत्गृह निर्माण भएको छ। विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माण भइरहेको छ।

फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ। बन्दीदेखि ठूलो खोला र चिम खोला देखि चिम खोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिनेछ।

देव ऊर्जा कन्ट्रक्सनले सिभिल र हाइड्रोमेकानिकलको काम गरिरहेको छ भने बिएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हो। रु तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छे« बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवद्र्धकको १० प्रतिशत लगानी रहने यो आयोजनामा २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ।