अभिनेता विपिन कार्कीले आफूले वर्षौंपछिसम्म सम्झिरहने चलचित्र ‘ऊनको स्वीटर’ बनेको बताएका छन्।
आज यहाँ पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ‘ऊनको स्वीटर’ र पात्र धरणीधर काफ्लेको चर्चा हुने बताए।
उहाँले यस चलचित्रको व्यावसायिक नतिजाका विषयमा म भन्न सक्दिनँ तर हामीले उठाएको विषय, यसको निर्माणले पनि यो वर्षौंसम्म रहने चलचित्र बनेको छ। यो नयाँ पुस्ताका लागि एउटा दस्तावेज पनि हुनेछ, ग्रामीण जीवनको। मैले आफ्नो उत्कृष्ट भन्ने पाँच चलचित्रमा यो पर्छ”, अभिनेता कार्कीले भने।
उहाँले यसअगाडि ‘जात्रा’, ‘हरि’, ‘नाका’, ‘सेल्फी किङ’ चलचित्र र उक्त चलचित्रमा निर्वाह गरेको पात्रलाई विशेष बताए। चलचित्रमा अभिनेता कार्कीको जोडीका रुपमा अभिनेत्री मिरुना मगर प्रस्तुत भएकी छिन्।
निर्देशक नवीन चौहानले चलचित्र नाम झैँ मुलायम कथामा बनेको बताए। उनले चलचित्रको कथालाई महसुस गरेर नै नाम राखेको बताए।
चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने जानकारी दिँदै पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले पनि अभिनय गरेको बताइएको छ। निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ।