२२ बैशाख २०८२ , सोमबार

सरकारको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको ठहर

News
२१ बैशाख, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको निष्कर्ष निकालेको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकले नीति तथा कार्यक्रमका पक्षमा संसद्मा सकारात्मक ढङ्गले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको उनले बताए।

देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान र देश तथा जनताको हितलाई केन्द्रमा राखी विकास, समृद्धि, सुशासन र सेवा प्रवाहलाई महत्त्व दिएर नीति तथा कार्यक्रम आएको निष्कर्ष निकालिएको बर्तौलाले बताए। उनले नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तथा लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र समाजवादका आधार तयार गर्न, राष्ट्रिय एकता सुदृढ पार्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नेतर्फ उन्मुख रहेको बताए।

“एमालेले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र यसकाविरुद्ध हुने कुनै पनि प्रकारको अशान्ति फैलाउने गतिविधिको प्रतिवाद गर्ने सङ्कल्प नीति तथा कार्यक्रममार्फत गरिएको आजको बैठकको निष्कर्ष छ", बर्तौलाले भने, "नीति तथा कार्यक्रमले संविधानको समीक्षा गर्दै यसका सवल पक्षलाई थप सुदृढ गर्ने र कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउँदै सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने प्रतिबद्धता एमालेले गरेको छ।”

बैठकमा नीति तथा कार्यक्रमका सम्बन्धमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, एमालेका उपमहासचिव विष्णु रिमाल, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले विज्ञका रूपमा प्रशिक्षण दिएका थिए।