२२ बैशाख २०८२ , सोमबार

आगामी बजेट ठोस र परिमाणमुखी हुनुपर्छ : एमाले

News
२१ बैशाख, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकमा आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा नेताहरूले बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा जोड दिएको उनले बताए।

“मूलतः नीति तथा कार्यक्रमले भनेजस्तै बजेट पनि ठोस र परिमाणमुखी होस्। विगतमा योजनाको छनौट स्रोतको विन्यास र योजनाको प्राथमिकतामा भद्रगोल देखिएको छ,” उनले भने, “विगतमा भएको अव्यवस्थालाई चिर्दै बजेट आओस्। सङ्घीय सरकारले राष्ट्रियस्तरका योजनामा केन्द्रित हुनुपर्ने बाँकी योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने भन्ने कुरामा जोड दिइएको छ।”

बैठकले बजेट उत्पादन र उत्पादत्वमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ। उपमहासचिव ज्ञवालीले कृषि क्षेत्रका सघन क्षेत्र निर्माण गरेर किसानलाई जमिन, प्रविधि, बजार र बचतमा जोड दिँदै उनीहरुको आम्दानी बढाउने र मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव प्राप्त भएको उनले बताए।

उपमहासचिव ज्ञवालीले बजेटमा ‘जेन–जी’ पुस्तालाई केन्द्रमा राखेर उद्यमशीलता, उद्यममा क्रियाशील बनाउँदै जेन–जीसँगैको सहकार्यमा सूचना प्रविधिको विकासलाई अगाडि बढाउन बैठकमा छलफल भएको बताए।

बदलिँदो भूराजनीतिकले गर्दा अन्तरराष्ट्रिय सहयोग कटौती भएको र ठेक्का लागेका योजनामा दाताहरुले हात झिक्ने अवस्थाले गर्दा सरकारको दायित्व झन् थपिने भन्दै त्यसलाई ध्यानमा राखेर योजनाको प्राथमिकता गर्न पार्टीले सरकारलाई सुझाव दिएको उनको भनाइ छ। बैठकमा सुशासन, भष्ट्राचार नियन्त्रण र स्रोतको अधिकतम सदुपयोगलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको थियो।