काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गर्दा आफूलाई भड्काउने प्रयास भएको बताएकी छिन्। एमालेको स्थापना दिवस तथा लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।
'जब मैले एमालेमा आबद्ध हुने निर्णय गरेँ, धेरैले निरुत्साहित गर्दै यो पार्टीमा युवाको ठाउँ छैन, जीवन बिगारेकोसम्म भने,' उनले भनिन्, 'तर मैले इतिहास बुझेर र अध्ययन गरेर नै एमाले रोजेकी हुँ। एमालेले सरकारमा गएका बेला राष्ट्र विकास गरेको छ।'
मेयर बालेन शाहप्रति लक्षित गर्दै उनले एमालेले कसैको घर जलाउन नसिकाउने र लुटपाट गर्न युवालाई प्रयोग नगर्ने बताइन्। 'एमालेले सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न सिकाउँदैन, बरु राष्ट्रको काम गर्न प्रेरित गरिरहन्छ,' उनले थपिन्।