सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्यामा करिब आधाले कमी आएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ। सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को सोही अवधिमा यो सङ्ख्या घटेर चार लाख ३१ हजार पुगेको छ।
कोभिड–१९ महामारीपछि बेलायत आउने र बाहिरिनेको सङ्ख्याबीचको अन्तर अर्थात् कुल आप्रवासनमा यो सबैभन्दा ठूलो गिरावट हो। ओएनएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “दीर्घकालीन कुल आप्रवासनमा करिब ५० प्रतिशतले कमी आएको छ।” “हामीले काम र अध्ययनसँग सम्बन्धित भिसामा आउनेहरूको सङ्ख्यामा कमी देखिरहेका छाँैं,” विज्ञप्तिमा भनिएको छ।
सन् २०२४ को डिसेम्बरसम्मको १२ महिनाको अवधिमा विशेषगरी काम र अध्ययन भिसामा रहेकाहरूको आप्रवासनमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यसअघिको कन्जरभेटिभ सरकारले यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका लागि नियम कडा बनाएको, उच्च तलबमा जोड दिएको र मानिसहरूलाई आफ्ना परिवारलाई आफूसँगै ल्याउन अनुमति दिन अस्वीकार गरेको थियो।
आप्रवासन बेलायतको राजनीतिमा एक महत्वपूर्ण मुद्दा बनेको छ र स्टार्मरले मे १२ मा कडा नयाँ नीतिहरू सार्वजनिक गर्दै बेलायतको सीमामा ‘अन्ततः नियन्त्रण फिर्ता लिने’ प्रतिज्ञा गरेका थिए। यी उपायहरूमा विदेशी हेरचाह कामदारहरू कटौती गर्ने, आप्रवासीहरू बसोबासका लागि योग्य हुन सक्ने समयको लम्बाइ दोब्बर गर्ने र विदेशी अपराधीहरूलाई निर्वासित गर्ने नयाँ शक्तिहरू समावेश छन्।
बेलायतलाई युरोपेली सङ्घमा रहिरहनुपर्ने पक्षमा मतदान गरेका स्टारर्मलाई मे महिनामा भएको स्थानीय चुनावमा आप्रवासन विरोधी (सुधारवादी पक्ष) ले आश्चर्यजनक रूपमा बहुमत प्राप्त गरेपछि आप्रवासन नियन्त्रणका लागि नयाँ दबाब परेको छ। उहाँले आफ्नो सम्बोधनमा बेलायत ‘अपरिचितहरूको टापू’ बन्ने खतरा रहेको बताउनुभएको थियो। यसले आफ्नै लेबर पार्टीभित्रैबाट उहाँको कडा बयानबाजीको लागि तीव्र आलोचना सुरु गरेको थियो।
नयाँ कदमको उद्देश्य सन् २०२९ मा संसदको अन्त्यसम्ममा वार्षिक एक लाखसम्म भिसा सङ्ख्या घट्ने गरी कुल आप्रवासनमा उल्लेखनीय कमी ल्याउनु रहेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आन्तरिक मामिलामन्त्री यवेट कूपरले भनिन्, “गत संसद्मा यो सङ्ख्या चार गुणाले घटेर झण्डै १० लाखमा झरेपछि निर्वाचनपछि कुल आप्रवासनमा आएको तीन लाखको गिरावट महत्वपूर्ण र स्वागतयोग्य छ।”
जुलाईमा भएको आम निर्वाचनपछि बेलायतको तटमा साना डुङ्गामा आएका करिब ३० हजार शरणार्थीलाई आफ्नो मूल देश फर्काइएको उनले बताइन्। यद्यपि, सन् २०२३ को डिसेम्बरसम्ममा शरणार्थीका लागि पर्ने आवेदनको सङ्ख्या ८० हजार रहेकोमा यो सङ्ख्या सन् २०२४ को डिसेम्बरमा ९५ हजार पुगेको तथ्याङ्कले देखाएको छ।
फरक फरक तथ्याङ्कले अनियमित आप्रवासीहरूको सङ्ख्यामा वृद्धि देखाएको छ। वर्षको सुरुदेखि अहिलेसम्म १३,५०० भन्दा बढी बेलायत आइपुगेका छन् भने उनीहरूमध्ये अधिकांश धेरै साना डुङ्गाहरूमा इङ्लिस च्यानल पार गरेर बेलायत पुगेका तथ्याङ्कले देखाएको छ।