काठमाडौं प्रहरीले १६८ थान अवैध मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका ३२ बालकुमारीस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ती मोबाइल बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट विदुर नगरपालिका १३ घर भई काठमाडौं बाफल बस्ने २४ वर्षीय शंखर श्रेष्ठ र भक्तपुर नगरपालिका २ बस्ने २३ वर्षीय कुशल सिलपकार रहेका छन्।
प्रहरीले Vivo ३० थान, Samsung २५ थान, Oppo १७ थान, Realme १६ थान, Redmi १३ थान, iPhone १३ थान, One Plus १० थान, Motorola ६ थान, Nokia ३ थान र अन्य कम्पनीका ३५ थान गरी जम्मा १६८ थान अवैध मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्र.उ. अपील राज बोहराले जानकारी दिए।