जिल्ला प्रहरी कार्यालय कास्कीले मरेको खसीको मासु बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले वैशाख २९ गते राति करिब ९:३० बजे पोखरा महानगरपालिका वडा नं. १४ खसिबजार स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा.लि. मा मरेको खसीको मासु काटि बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त फर्ममा मरेको खसीहरुलाई ड्रेसिङ गरिरहेको तथा विक्री वितरण गर्ने तयारीमा रहेको अवस्थामा ५४ किलो खसिको मासुसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा जिल्ला चितवन ईच्छा मनकामना गा.पा. ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १६ स्थित मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र जिल्ला लम्जुङ क्वोलासोथर गा.पा. ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १६ स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्ममा काम गर्ने ३२ वर्षीय राम गुरुङ रहेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालो बजारी तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।