२२ जेष्ठ २०८२ , बिहीबार

तुलसीपुर अस्पताल ५० शय्याको अनुमतिमा १४४ शय्या सञ्चालन गर्दै

News
२० जेष्ठ, काठमाण्डौँ ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ। विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार बिरामीको चाप बढेको र सेवा पनि थपिँदै जाँदा शय्या थप्नुपर्ने बाध्यता भएको हो। दरबन्दी ५० शय्याकै भए पनि १४४ शय्या सञ्चालन गर्दा निकै भार थपिएको उनले बताए।

अस्पतालमा कन्सलटेन्ट डाक्टरको दरबन्दी १४ जनाको भए पनि १८ जना चिकित्सकले काम गरिरहेका छन्। स्थायी कन्सल्टेन्ट चिकित्सक ११ जना र बाँकी सातजना करारमा नियुक्त गरिएको छ। मेडिकल अफिसर सात जनाको दरबन्दी भए पनि स्थायी छ र १८ जना करारमा नियुक्त गरी २४ जना बनाइएको छ। जम्मा ७२ जना चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीको दरबन्दी रहेकामा हाल अस्पताल विकास समितिको निर्णयअनुसार २३५ जना राखिएको छ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रराज लामिछानेले दुई सय शय्या बनाउनका लागि धेरै पहल भए पनि काम अघि बढ्न नसकेको बताए। आगामी आर्थिक वर्षमा २०० शय्याको स्वीकृति हुने गरी बजेट आउने कुरामा आफू ढुक्क रहेको उनले बताए। अस्पताललाई २०० शय्या बनाउनुपर्ने आवाज चौतर्फी उठिरहेको छ।