२३ बैशाख २०८२ , मंगलवार

ट्रम्पको पुटिनलाई युक्रेनमा आक्रमण रोक्न आग्रह, शान्ति सम्झौताको प्रस्ताव

News
१२ बैशाख, काठमाण्डौँ ।

रुस र युक्रेनबीच तीन वर्षभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्पन्न मानवीय संकट गहिरिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमा आक्रमण रोक्न आग्रह गर्दै शान्ति सम्झौताको प्रस्ताव गरेका छन्।

सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा ट्रम्पले लेखेका छन्, "म किभमा रुसको आक्रमणबाट खुसी छैन। यो आवश्यक थिएन र समय पनि धेरै खराब थियो। भ्लादिमिर, रोक्नुहोस्! हरेक हप्ता ५००० सैनिक मरिरहेका छन्। शान्ति सम्झौता गरौं!" उनले रुसले ‘पूरा युक्रेन कब्जा नगर्नु’ लाई रुसको तर्फबाट ‘ठूलो रियायत’ भएको दाबी गरेका छन्।

हालै रुसले युक्रेनमा मिसाइल र ड्रोनबाट ठूलो आक्रमण गरेपछि ट्रम्पको यस्तो आग्रह आएको हो। रुसको आक्रमणमा किभमा १२ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन्। रुसले किभमा ७० मिसाइल र १४५ ड्रोनबाट आक्रमण गरेको थियो, जुन जुलाई २०२४ पछिको सबैभन्दा घातक आक्रमण थियो। युक्रेनको आपतकालीन सेवाका अनुसार १३ स्थानमा क्षति पुगेको छ, जसमा आवासीय भवन र नागरिक संरचनाहरू समावेश छन्।

ट्रम्प प्रशासनले पेरिसमा एक शान्ति प्रस्ताव पेश गरेको छ, जसमा युक्रेनलाई ठूलो त्याग गर्न भनिएको छ। उक्त प्रस्तावमा क्रिमियालाई रुसको हिस्सा मानिने र युक्रेनले रुसलाई ठूलो भूभाग सुम्पनुपर्ने उल्लेख छ। यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसलाई अस्वीकार गरेका छन्, किनकि यो युक्रेनको संविधान विपरीत छ।

ट्रम्पको प्रस्तावलाई लिएर अमेरिकाका सहयोगी देशहरू चिन्तित छन्। युरोपेली र एसियाली सहयोगीहरूले युक्रेनलाई आफ्नो भूमि छोड्न बाध्य पारिएमा युरोप वा विश्वको कुनै पनि देश सुरक्षित नरहने र अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तको उल्लङ्घन हुने बताएका छन्। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले रुसको आक्रमणको निन्दा गर्दै पुटिनले झुट बोलिरहेको र शान्तिको कुरा गरे पनि बमबारी गरिरहेको बताएका छन्।