जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको एक रेस्टुरेन्टबाट ५ जना महिलाको उद्धार गरेको छ भने मानव बेचबिखनको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले वैशाख २९ गते दिउँसो करिब ४:३० बजे पोखरा महानगरपालिका वडा नं. ०८ सृजनाचोक स्थित रहेको मनिका रेस्टुरेन्टमा अवैध रुपमा यौनजन्य क्रियाकलापहरु भईरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त होटलबाट ५ जना महिलाहरुलाई उद्धार गरी सेफ हाउसमा पठाएको छ। साथै, होटल संचालक सहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाउँपालिका वडा नं. ०४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ०८ सृजनाचोक स्थित मनिका रेस्टुरेन्ट संचालन गरी बस्ने ४० वर्षीय पदम लुङ्वा, पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बस्ने ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनहुँ व्यास न.पा. वडा नं. ५ साँगे बस्ने २१ वर्षीय सलन गुरुङ रहेका छन्।
कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।