कास्की जिल्ला प्रहरी कार्यालयले नेपाल टेलिकमको तामाको तार चोर्ने ४ जनालाई पक्राउ गरेको छ। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ छिनडाँडामा नेपाल टेलिकमको Copper Cable र अन्य घरायसी सामानहरू पटक पटक चोरी भई रहेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा तामाको तार लगायत विभिन्न घरायसी सामानहरू कवाडी खानामा बेचबिखन भएको भन्ने जानकारी पाएपछि प्रहरीले पोखरा महानगरपालिका वडा नं.१२ डिगालेथरमा सञ्चालित मनोज कुमार सिंहको गद्धी (कबाड खाना) र पोखरा महानगरपालिका वडा नं. ८ पृथ्वीचोकमा सञ्चालित मुकेश कुमारको गद्धी (कवाड खाना) मा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा विभिन्न सामानहरु कुच्चाई फुटाई राखिएको अवस्थामा र उक्त टेलिकमको तार बाहिरको प्लाष्टिकको कभर पोली (डडाई) तामाको भाग मात्र बेच्नको लागि तयारी अवस्थामा राखिएको अवस्थामा फेला परेको थियो।
घटनामा संलग्न भारत बिहार राज्य मोतिहारी जिल्लाका २२ वर्षीय मनोज कुमार सिंह, भारत बिहार राज्यका २७ वर्षीय करन कुमार शाह, भारत बिहार राज्यका ४२ वर्षीय मुकेश कुमार र धादिङ खनियाबास गा.पा. वडा नं. २ का ३१ वर्षीय श्याम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले ८२ किलो तामाको तार, २ किलो ५ सय ३० ग्राम आल्मुनियमको तार, ५१ थान पित्तलको धारा टुटीहरू (१६ किलो), ९७ थान पित्तलको सकेट (१८ किलो), १०५ थान ठुलो सानो पित्तलको गेटबल (८५ किलो), २१ किलो पहेली रङको धातु (नक्कली गरगहनाहरु), १० थान तामाको कलश, ३ थान चरेशको कचौरा, ३ थान चरेशको दियो बाल्ने पाला, १ थान चरेशको कलश, १ थान तामाको पानी पिउने फिल्टर र १ किलो ५ सय ग्राम तामाको तार बरामद गरेको छ।
उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।