२२ बैशाख २०८२ , सोमबार

'शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ, छिट्टै टुङ्गोमा पुग्छ'

News
१७ बैशाख, काठमाण्डौँ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । मंगलबार राति भएको वार्तापछि मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वार्तालाई सकेसम्म छिटो टुंगोमा पुर्याउने प्रयास भइरहेको जानकारी दिए ।

वार्तामा शिक्षकहरू पनि सकारात्मक रूपमा प्रस्तुत भएको बताइएको छ । शिक्षामन्त्री पन्त र महासङ्घका पदाधिकारीबीच मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म वार्ता चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको शिक्षक टोली वार्तामा सहभागी रहेको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रूपमा अघि बढेपछि मंगलबार पुनः वार्ता भएको थियो ।

विभिन्न माग राख्दै शिक्षक सङ्घ-सङ्गठनहरू गत चैत २० गतेदेखि आन्दोलनमा छन् । आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।