२२ बैशाख २०८२ , सोमबार

शिक्षक आन्दोलन थप चर्किने संकेत: माइतीघरमा पुनः भेला हुन आह्वान

News
१५ बैशाख, काठमाण्डौँ ।

शिक्षक तथा कर्मचारीहरुले राखेका पेशागत मागहरु पूरा गराउन जारी आन्दोलन थप तीव्र हुने देखिएको छ। बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सुरक्षाकर्मीले गरेको दमनको आन्दोलनकारीहरूले कडा शब्दमा निन्दा गरेका छन्।

आन्दोलनकारीहरुले शुक्रबार पनि माइतीघर मण्डलामा भेला भएर सरकारलाई थप दबाब दिने बताएका छन्। उनीहरुले सरकारी सुरक्षाकर्मीबाट भएको दमनमा परी घाइते भएका शिक्षकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

आन्दोलन संयोजक समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "वैशाख १४ गतेको आन्दोलनमा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौं। हाम्रो आन्दोलन जारी छ। आज पनि हिजोझैं ठिक ११ः०० बजे माइतीघर मण्डलामा सबै साथीहरूलाई उपस्थित हुन अनुरोध गर्दछौं।"

विज्ञप्तिमा आन्दोलनमा सहभागी हुन काठमाडौं आउन बाँकी शिक्षक तथा कर्मचारीहरूलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ। संयोजकहरुका अनुसार आन्दोलन अब अन्तिम चरणमा पुगेको छ, जसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ। "मेरो आन्दोलन, मेरो सहभागिता। बलियो सहभागिता, बलियो आन्दोलन – बलियो आन्दोलन, बलियो उपलब्धि।" भन्ने नाराका साथ आन्दोलनलाई सशक्त बनाइने उनीहरुको भनाइ छ।