२२ जेष्ठ २०८२ , बिहीबार

बागलुङको ताराखोला र चितवनको भरतपुरबीच भगिनी सम्बन्ध कायम

News
२० जेष्ठ, काठमाण्डौँ ।

बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। दुई स्थानीय तहले असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहकार्य गर्नका लागि यो सम्बन्ध गाँसेका हुन्।

भरतपुरमा सोमबार आयोजित एक कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक र भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भगिनी सम्बन्धको प्रस्तावपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे।

समझदारी अनुसार दुवै पालिकाले संस्कृतिको आदानप्रदान, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्नेछन्।

ताराखोलाका अध्यक्ष विश्वकर्माले आफ्नो गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत बागलुङको पर्यावरण पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको र यस सम्बन्धले स्थानीय उत्पादन र संस्कृतिलाई भरतपुर महानगरपालिकासामु चिनाउन मद्दत गर्ने बताए।

भरतपुर महानगरपालिकाका प्रमुख दाहालले यस भगिनी सम्बन्धले दुवै स्थानीय तहको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

समझदारी पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, प्रविधि, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा वार्षिक सहयोगलगायतका क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उल्लेख छ।