यहाँको तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहरमा मोहर खोज्दै छन्। तानसेन–७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी तीन दाजुभाइले फोहरबाट मोहर खोज्दै आएका हुन्।
यहाँका सुशील, उमेश र टार्जन भण्डारीले तानसेन बजारबाट दैनिक निस्कने फोहरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले कवाडी सङ्कलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन्। उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन्। उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोगविहीन वस्तुहरु सङ्कलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन्।
तीनै दाजुभाइले स्नातक सम्मको अध्ययन गरेका छन्। सङ्कलित कवाडी वस्तुहरुको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौँ, वीरगञ्जलगायत ठूला सहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए। केही वस्तुहरु भने आफैँ रिसाइकल गर्ने गरेको उनको भनाइ छ। उनीहरुले कवाडी सङ्कलनबाटै वार्षिक ३० देखि ५० लाखसम्म कमाइ गर्दै आएका छन्। कवाडी सङ्कलनका लागि उनीहरुले छ जनालाई रोजगारी दिएका छन्।
सुरुमा पढेका युवाहरुले फोहर सङ्कलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन्। प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ।