वैदेशिक रोजगारीमा ठगिएका तनहुँ जिल्लाका २४ जना सर्वसाधारणलाई ५४ लाख दुई हजार रूपैयाँ फिर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा उनीहरूलाई उक्त रकम फिर्ता गरिएको हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा केन्द्रमा एक सय चार वटा उजुरी दर्ता भएका छन्। तीमध्ये २४ जनाको उजुरी फछ्र्योट गरी पीडितलाई रकम फिर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले जानकारी दिए। केन्द्रमा दर्ता भएकामध्ये ८० वटा उजुरी वैदेशिक रोजगार विभागमा पठाइएको छ।
केन्द्रले ६ हजार ४०७ पुरूष र ३ हजार ६१९ महिला गरी १० हजार २६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श प्रदान गरेको छ। साथै, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाका परिवार र दुर्घटनामा परेकाहरूका लागि रू ४ करोड २१ लाख १९ हजार २ सय ५६ बीमा बापतको रकम उपलब्ध गराइएको छ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन २०७६ साल मंसिर १ गतेदेखि जिल्लामा सामी परियोजना सञ्चालित छ।