तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता विद्यार्थी अध्ययन गर्ने भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ। भवनको छानो चुहिँदा वर्षायाममा पठनपाठनमा समस्या हुँदै आएको छ।
वर्षायाम सुरु भएको र टिनमा ठूला–ठूला प्वालले पढाउँदा पढाउँदै पानी पर्दा समस्या भइरहेको अपाङ्गता स्रोत कक्षाका शिक्षक शिव ढकालले जानकारी दिए। विद्यालयको स्रोतकक्षामा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन्।
विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले स्रोत साधन अभावमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भवनको मर्मत गर्न नसकिएको बताए। विद्यालयमा रिक्त रहेको स्रोत शिक्षक दरबन्दी पदपूर्ति समेत हुन नसकेको उनको भनाइ छ।