तनहुँ जिल्लामा गत चैतदेखि मात्रै १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । डढेलोका कारण ठूलो क्षति भएको छ।
यहाँका पालिका र सरोकार भएका निकायले सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि डढेलोका घट्ना भने भइरहेका छन्। डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार जिल्लाका विभिन्न १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ। यसबारे एकीकृत विवरण सङ्कलनको काम भइरहेको उनले बताएका छन्।
वनमा डढेलो लगाउनु हुँदैन भनेर जिल्लास्थित दशवटै पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलो लाग्ने क्रम नरोकिएको श्रेष्ठको भनाइ छ। उनले स्थानीय तहको सहयोगमा सामुदायिक वनका पदाधिकारी र सदस्य राखेर सचेतना फैलाउने काम निरन्तर भइरहेको भए पनि वर्षैपिच्छे डढेलोका घटना बढिरहेकोमा चिन्ता व्यक्त गरे।
जिल्लामा ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ। त्यहाँ दशवटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन र छवटा धार्मिक वन रहेका छन्। गर्मीयाम सुरु भएसँगै यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको र सो कार्य मानवीय असावधानीकै कारण भए पनि त्यसमा संलग्नको पहिचान गर्न नहुँदा कारबाहीको दायरामा ल्याउन नसकिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।
यहाँ घर नजिकैको पातपतिङ्गर सफा गर्ने नाममा जलाउने, गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै वनमा आगो लगाउने प्रवृत्ति कायमै छ। त्यसलाई निरुत्साहित गर्न सचेतनाका कार्यक्रम गरिए पनि त्यसको प्रतिफल आउन सकेको छैन। डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सब डिभिजनमार्फत वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
वनमा अग्निरेखा बनाउने, पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चीज लिएर वनमा नजाने, सुकेका र ढलेका रूख तथा हाङ्गाबिङ्गाहरू सुक्खा मौसम अगावै हटाउने विषयमा सामुदायिक वनका उपभोक्तालगायतलाई सचेत गराउने गरिएको छ। श्रेष्ठले गर्मी मौसममा बिँडी, चुरोट खाएर ननिभाइ फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्ने बताए। उनले गोठालो तथा केटाकेटीहरूले मनोरञ्जनका लागि वनमा आगो बाल्ने र वन नजिकका खेतबारीमा झारपात जलाउने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्ने भएकाले यसतर्फ सचेत हुनुपर्ने जानकारी दिए।
डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ। वन ऐनमा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीन वर्ष कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।