राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमा मात्र सीमित रहेको टिप्पणी गरेका छन्।
आज प्रतिनिधिसभाको बैठकमा सरकारले गत शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा आफ्नो धारणा राख्दै वाग्लेले यस्तो बताएका हुन्।
“यो थाकेको सरकारले जाँगर नचलाई ल्याएको पूरानै कार्यक्रमको सूची हो, बजेटको सिलसिलेवार मिलेको छैन, पर्यटनलाई भौतिक पूर्वाधारमा लगेर जोडिएको छ, कृषिलाई व्यापारसँग जोडिएको छ, नीति तथा कार्यक्रममा परराष्ट्र र अर्थ मन्त्रालयबीच पनि समन्वय देखिँदैन,” उनले भने। सरकार गठनको क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने भनिए पनि व्यवहारमा शून्य देखिएको उनको भनाइ छ।
कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरेपनि सरकार गठन भएको १० महिनासम्म संशोधनको विषय बाहिर ल्याउन नसकेको उनले बताए।
यद्यपि, नीति तथा कार्यक्रममा समावेश उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनलाई व्यावहारिक रूपमा कार्यान्वयन गरेको खण्डमा आफ्नो पार्टीले समर्थन गर्ने वाग्लेले प्रतिबद्धता जनाए। आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवम् लगानी अभिवृद्धि विधेयकमा आफ्नो पार्टीले सरकारलाई सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै नीति तथा कार्यक्रममा भौतिक परियोजनाको पुनःप्राथमिकीकरण गर्ने विषय सकारात्मक भएको उनले बताए।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले संविधानको धारा १७ (क)मा फरक विचार राख्ने व्यक्तिलाई स्वतन्त्रताको हकलाई बेवास्ता गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए। “कृषिका क्रान्ति गर्ने भनिएको छ, तर एउटा माछा बेच्न सकिँदैन, देशमै उत्पादन भएको जुम्लाको स्याउ बेच्न सकिएको छैन, कम्तिमा कृषिजन्य पदार्थ बाहिरबाट आयात नगर्ने नीति बनाइयो भने जनता आफैँ उत्पादनमा लाग्छन्,” उनले भने।