मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेको छ । मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी नदी किनारमा रिटेनिङ वाल निर्माण गर्ने क्रममा जमिन चर्किन थालेपछि पुल जोखिममा परेको हो ।
छैरो तिब्बती क्याम्पका मुखिया टसी ढिन्डुकका अनुसार क्याम्पतर्फको भागमा पुलको बिमा र डिपिसी चर्किएका छन् । पुलमा मान्छे हिँड्न जोखिम भएपछि आवतजावत बन्द गरिएको छ ।
पुल जोखिममा पर्दा क्याम्पका करिब ६० घरधुरीलाई राजमार्गमा आउजाउ गर्न समस्या भएको छ । पुलको मर्मत सुधार वा पुनर्निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा निवेदन दिइएको छ ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले पुल मर्मत सुधारका लागि कार्यालयले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले निर्माण कार्यले पुलमा असर परेको स्वीकार गर्दै यथाशीघ्र मर्मत गर्ने बताए ।
पुल जोखिममा परेपछि क्याम्पका शरणार्थीहरू आधा घण्टा हिँडेर छैरो गाउँ नजिकैको अर्को झोलुङ्गे पुल प्रयोग गर्न बाध्य भएका छन् । यसले उनीहरूको दैनिक आउजाउ र मालसामान ढुवानीमा समस्या थपेको छ ।