३ असार २०८२ , मंगलवार

सुर्नया गाउँपालिकामा ठेउलाको सङ्क्रमण, विद्यालय बन्द

News
३ असार, काठमाण्डौँ ।

सुर्नया गाउँपालिकाका वडा नम्बर ७ र ८ मा ठेउलाको सङ्क्रमण फैलिएको छ। सङ्क्रमणका कारण बालबालिका प्रभावित भएका छन् भने केही विद्यालयको पठनपाठन समेत बन्द गरिएको छ।

सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले ठेउला सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। ठेउला सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। यसबाट बालबालिका, गर्भवती, र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति बढी प्रभावित हुने भएकाले ध्यान दिनुपर्ने उनले बताए।

ठेउला भएमा ज्वरो आउने, शरीरभरि बिमिरा आउने, शरीर दुख्ने, भोक नलाग्नेलगायत लक्षण देखा पर्छन्। यस्ता लक्षण देखापरेमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्य शाखा प्रमुख महराले आग्रह गरेका छन्।

ठेउला सङ्क्रमितव्यक्तिलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने उनले बताए। यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन भनिएको छ। केही ठाउँमा ठेउला रोग देखिएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए।