२२ बैशाख २०८२ , सोमबार

पर्साको सुनाखरी होमस्टेमा पर्यटकको आकर्षण बढ्दो, यस वर्ष तीन हजार पाहुना भित्रिए

News
२२ बैशाख, काठमाण्डौँ ।

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) मा चालु आर्थिक वर्षमा तीन हजार पाहुनाको आवागमन भएको छ। पर्यटकको आवागमन बढेसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह छाएको छ।

सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले चालु आर्थिक वर्षको मङ्सिरदेखि फागुनसम्मको तीन महिनाको अवधिमा ६० जनाभन्दा धेरै चलचित्र छायाङ्कनका कलाकार तथा प्राविधिक बसेकाले पनि अघिल्ला वर्षको तुलनामा पर्यटकको आवागमन बढेको जानकारी दिए। गत आर्थिक वर्षमा करिब एक हजार आठ सय पाहुना आएकामा यो वर्ष वैशाख तेस्रो सातासम्म करिब तीन हजार पर्यटक भित्रिएका छन्।

यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ। वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जङ्गली जनावरको अवलोकन गर्नसमेत पाइन्छ। यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन्।

यहाँका घरबासमा स्थानीयस्तरमा उत्पादन हुने मकैको विशेष परिकार, लोकल कुखुरा र मकैको ढिँडो पनि पाहुनाले रुचाउने गर्छन्। समूहमा पाहुना आउँदा तामाङ समुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छन्।