काठमाडौँका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन्। सुमन पुरुषतर्फ तथा सम्पदा महिलातर्फ उत्कृष्ट खेलाडी बनेका हुन्।
नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्तरुपमा आयोजित सो प्रतियोगिताको पुरुष ५०–५४ किलो तौल समूहमा सुमनले स्वर्ण पदक जितेका हुन्। यस्तै महिला ४०–४३ किलो तौल समूहतर्फ सम्पदाले स्वर्ण पदक जितेकी हुन्।
पुरुष ४६–५० किलो तौल समूहमा करण ढोली, ५४–५८ किलो तौल समूहमा अर्पण लामा, ५८–६३ किलो तौल समूहमा सुझपकुमार यादव र ६३–६८ किलो तौल समूहमा आशिष भुजेलले स्वर्ण जिते। महिला ४३–४६ किलो तौल समूहतर्फ सुप्रिमा बजगाईं, ४६–४९ किलो तौल समूहतर्फ रोजिना लामा, ४९–५३ किलो तौल समूहतर्फ प्रतिमा भुजेल र ५३–५८ किलो तौल समूहतर्फ मनीषा तामाङले स्वर्ण जिते।
विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा पुरुष/महिलातर्फ गरी २१० खेलाडीले प्रतिस्पर्धा गरेका तेक्वान्दो प्रशिक्षक रञ्जितबहादुर डङ्गौराले जानकारी दिए।