हालसम्मकै धेरै सहभागीले दौड पूरा गरेर विश्व कीर्तिमान कायम गरेको लन्डन म्याराथनले आगामी वर्ष सन् २०२६ को दौडका लागि अर्को विश्व कीर्तिमानी कायम गरेको छ।
यस वर्ष निर्धारित ४२ किमी दूरी हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६४० जनाले पूरा गरेर नयाँ कीर्तिमान बनेको केही दिन नबित्दै आगामी वर्षको लन्डन म्याराथनमा सहभागिता जनाउन चाहनेहरुको सङ्ख्याले नयाँ कीर्तिमानी कायम गरेको आयोजक लन्डन म्याराथन इभेन्ट्सका प्रमुख कार्यकारी ह्यू ब्राशरले बताए। आगामी वर्षका लागि गत शुक्रबार आवेदन दिन सकिने अन्तिम दिन ११ लाख ३३ हजार ८१३ जनाले नाम दर्ता गराएका छन्।
यस वर्षको लन्डन म्याराथनमा नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले पनि सहभागिता जनाउँदै नयाँ कीर्तिमान कायम गरिन्। नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ का नामले परिचित उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरिन्। सन्तोषीले लन्डन म्याराथनका विजेताहरुलगायत धेरै अन्तरराष्ट्रिय धावक र प्रशिक्षकहरूसँग भेट भई कुराकानी गर्ने अवसर पाएको बताइन्।
सन्तोषीले पहिलो पटक पेरिस ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाउँदाको क्षण स्मरण गर्दै लन्डन म्याराथनको अनुभव नितान्त फरक रहेको बताइन्। सन् २०१९ मा काठमाडौँमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)बाट पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी सन्तोषीले १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन्।
नेपाल रन युकेका संस्थापक सन्तोष राईले पनि नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन्। उनले दुई घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेका थिए। नेपाल रन युकेको संयोजनमा भाग लिएका सबै ९६ जनाले निर्धारित दूरी पूरा गरेका थिए।
यस वर्षको लन्डन म्याराथनमा पुरुषतर्फ केन्याका सबस्टियन सावे २ घण्टा २ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै उपाधि विजेता बने भने इथियोपियाकी टिस्ट आसिफाले २ घण्टा १५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै विजेता बनिन्।