१५ बैशाख २०८३ , मंगलवार

पाकिस्तानमा विद्यालय बसमा आत्मघाती आक्रमण, चार बालबालिकाको मृत्यु, ३० घाइते

News
७ जेष्ठ, काठमाण्डौँ ।

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन्।

बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले एएफपीसँग भने, “एपीएस (आर्मी पब्लिक स्कूल) का बालबालिकालाई लक्षित गरी बसमा आक्रमण गरिएको छ।” उनले प्रारम्भिक अनुसन्धानले यो आत्मघाती बम विस्फोट भएको ठहर गरेको बताए।

एक वरिष्ठ प्रहरी अधिकारीले मिडियासँग कुरा गर्ने अधिकार नभएको बताउँदै नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, “आक्रमणबाट पाँच बालबालिकाको मृत्यु भएको र थप केही व्यक्ति गम्भीर घाइते अवस्थामा रहेकाले यो सङ्ख्या बढ्न सक्नेछ।” यसैबीच सेनाले एक विज्ञप्ति जारी गर्दै तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको जनाएको छ।

यस विद्यालयले त्यस क्षेत्रमा बसोबास गर्ने सैनिक र सर्वसाधारणका छोराछोरीलाई सेवा प्रदान गर्दछ। सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरमा एउटा झ्याल फुटेको स्कूल बसको भग्नावशेष, र घटनास्थल नजिकै राखिएको स्कुल ब्यागको थुप्रो देखिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले एक वक्तव्य जारी गर्दै ‘क्रूरता’को सिकार भएका बालबालिकाका परिवारप्रति सहानुभूति व्यक्त गर्नुभएको छ। शरिफले लडाकूहरूलाई क्षेत्रीय प्रतिद्वन्द्वी भारतले समर्थन गरेको आरोप पनि लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, "भारतीय संरक्षणमा सक्रिय आतङ्ककारीहरूले स्कूल बसमा निर्दाेष बालबालिकामाथि आक्रमण गर्नु उनीहरूको शत्रुताको स्पष्ट प्रमाण हो।"

आणविक शक्ति सम्पन्न छिमेकीहरूले दशकौँपछिको सबैभन्दा गम्भीर द्वन्द्व अन्त्यका लागि युद्धविराम गरेको केही हप्तापछि भएको यस बम आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन।

बलोच लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र यसले प्रायः सुरक्षा बलहरू विरुद्ध घातक आक्रमणहरू गर्दछ । इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरका साथै पाकिस्तानी तालिबानले पनि यस क्षेत्रमा भएका केही पछिल्ला आक्रमणहरूको जिम्मेवारी लिएको छ।

सन् २०१४ मा उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा रहेको सैनिक विद्यालयमा बन्दुकधारीले आक्रमण गरी १५० भन्दा बढी व्यक्तिको ज्यान लिएका थिए ।