३० जेष्ठ २०८२ , शुक्रबार

सुडी समाज काठमाडौँको महिला उपसमिति गठन

News
२८ जेष्ठ, काठमाण्डौँ ।

महिलाको हकहितको संरक्षण, संवर्द्धन तथा सशक्तीकरणको माध्यमबाट लैङ्गिक न्याय सुनिश्चित गरी समाजको अग्रगामी रुपान्तरणका लागि सुडी समाज काठमाडौँले महिला उपसमिति गठन गरेको छ।

सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रीमती अञ्जु साहको संयोजकमा गठित उक्त उपसमितिका सदस्यहरूमा बबिता पञ्जियार, ममता साह, पुनम साह (पूर्वे), गीता साह, मुन्नी साह र ममता साह छन्।

‘सबै महिलाका लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा समाजका अध्यक्ष शीतलप्रसाद महतोले समाजका महिलाको युग सुहाउँदो प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप न्यूनीकरणका लागि महिला उपसमितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले महिलालाई शिक्षित र आत्मनिर्भर बनाई समाजका हरेक गतिविधिमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्ने नीति समाजको रहेको जानकारी दिए।

समाजका उपाध्यक्ष शङ्कर साह सुडीले महिलाहरू आर्थिक रूपमा सक्षम भएमात्र आफ्ना हकअधिकार सुनिश्चित हुने धारणा राखे। उपसमितिका संयोजक अञ्जु साहले भनिन्, “शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण र निर्णय प्रक्रियामा समान पहुँच सुनिश्चित गर्न महिलाले अझै मेहनत गर्न आवश्यक छ।”