शुक्रबार साँझ आएको हुरीका कारण सर्लाहीका विभिन्न स्थानमा ६ जना घाइते भएका छन् । हुरीले घर तथा सवारी साधनमा क्षति पुर्याएको छ ।
हुरीका कारण बकाइनोको रूख भाँच्चिदा बागमती नगरपालिका–२ धरहराका अन्दाजी ३८ वर्षका नवराजराय क्षेत्री घाइते भएका छन् । उनको ढाडमा चोट लागेको छ । बारीमा काम गरिरहँदा एक्कासी आएको हुरीले रूख भाँचिएको थियो ।
हरिपुर्वा नगरपालिका–६ निवासी ५० वर्षकी सुमीदेवी हुरीले उडाउँदा घरको छतबाट लडेर घाइते भएकी छन् । उनको हात, मुख र आँखामा चोट लागेको छ ।
यस्तै, हरिवन नगरपालिका–५ घुर्कोली निवासी १८ वर्षका बलिराम महतो र ५२ वर्षका गङ्गाराम महतो पनि रुखको हाँगा भाँचिएर लाग्दा घाइते भएका छन् । उनीहरुलाई हरिपुर नगरपालिका–२ सानो जगतपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल चलाइरहेको अवस्थामा रुखको हाँगा झरेर लागेको हो ।
हुरीले उडाएको जस्ता पाताले लागेर हरिवन नगरपालिका–५, घुर्कौली निवासी ७५ वर्षकी दलेमुन खातुन घाइते भएकी छन् । आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेको बेला कठघराको जस्ता उडेर लाग्दा उनको दायाँ आँखामा चोट लागेको छ ।
हुरीले सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँको चोकमा रहेको होटलमा क्षति पुग्दा रु ६० हजार बराबरको क्षति भएको छ । सोही स्थान निवासी मुन्ना सिंहको जग्गामा सञ्जीव पासवानले काठ र फुसको घर बनाएका थिए । उक्त घरमा रामनगर गाउँपालिका–७, निवासी उमेश साहले भाडामा होटल सञ्चालन गरिरहेका थिए ।
यसैगरी, रूख लडेर च्याँपिदा हरिवन नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय हरिवनको पार्किङमा रहेका तीन वटा मोटरसाइकलमा क्षति पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका–१२ मा हुरीका कारण रूख ढल्दा सवारी दुर्घटनामा परेको छ । हावाहुरीले सडकमा ढलाएको रूख छलाउन खोज्दा बाँकेबाट लालबन्दीतर्फ आउँदै गरेको मधेस प्रदेश–०४–००१ च ०२७७ नम्बरको पिकअप गाडी सडक छेउमा पल्टिएको हो । दुर्घटनामा पिकअप चालक पर्सा गाउँपालिका–४ का ३५ वर्षका राजनारायण महतो घाइते भएका छन् । उनको हातको औंलामा चोट लागेको छ ।