सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्गको अनुसरण नै स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन्। २५६९औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले बुद्ध धर्मको मूल उद्गम थलो नेपाल हुनुले नेपालीलाई गौरवको अनुभूति गराएको उल्लेख गरे।
सभामुख घिमिरेले गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने बुद्ध जयन्तीले शान्ति, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरणा दिने बताए। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्तीले विश्वभरका करोडौं मानिसहरूलाई सुमार्गमा लम्कन उत्प्रेरित गरेको उनको भनाइ छ।
नेपालमा बौद्ध धर्म केवल एक धार्मिक आस्था मात्र नभई सभ्यता, संस्कार र परम्परासँग पनि गहिरो रूपमा जोडिएको उनले बताए। "नेपाललाई ‘शान्तिको भूमि’ भनिनुका पछाडि यही ऐतिहासिक तथा आध्यात्मिक पृष्ठभूमि प्रमुख कारण हो," सभामुख घिमिरेले भने, "बुद्ध धर्मको मूल आधार पञ्चशीलले व्यक्ति, समाज र राष्ट्रलाई शुद्ध आचरणतर्फ डोर्याउने मार्ग देखाउँछ।"
बुद्धका उपदेशहरू मेलमिलाप, विश्वास, समता र करुणामा आधारित भएको र ती शिक्षाहरूलाई जीवनशैलीमा आत्मसात् गर्नु नै आजको विश्वका लागि मानवता, सहिष्णुता र सहअस्तित्वको मार्ग भएको उनले बताए।
अन्तमा, सभामुख घिमिरेले शान्ति, सत्य र अहिंसाका प्रतीक भगवान बुद्धको जन्मजयन्तीले सम्पूर्ण मानव समुदायलाई आपसी सम्मान, संयमता र सुदृढ सहकार्यतर्फ प्रेरित गरोस् भन्ने कामना गर्दै पुनः हार्दिक शुभकामना व्यक्त गरे।