मिति २०८२।०३।११ गते सामाजिक सञ्जाल फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद रु. २३,१५,०००।- (अक्षरेपि तेइस लाख पन्ध्र हजार) जम्मा गर्न लगाई ठगी गरेको भन्ने निवेदनका आधारमा उक्त कार्यमा संलग्न तपसिलमा उल्लिखित २ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको माइतिघरबाट नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धान गर्दा निजहरूले रु.१,३१,६२,६७५/- (अक्षरेपि एक करोड एकतीस लाख बयसड्डी हजार छ सय पचहत्तर) रुपैयाँ बराबरको अभौतिक मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको समेत देखिएको छ। सो सम्बन्धमा थप अनुसन्धानका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट ३ (तीन) दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको छ।
पक्राउ परेका प्रतिवादीहरू:
१. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ५ घर भइ जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने वर्ष १९ को समिर तामाङ
२. जिल्ला काठमाडौँ, गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने वर्ष १९ को क्रिस पोखरेल