मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको खोजी सुरु गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजनाले यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण थालेका हुन्।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्च क्षेत्रमा हिउँ चितुवा र आहारा प्रजातिको खोजी गर्न थालिएको बताए। हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउन क्यामेरा राखिएको छ।
यसका लागि ३२ क्यामेरा व्यवस्थापन गरिएको छ। समुन्द्री सतहको तीन हजार मिटरदेखि चार हजार ६ सय मिटरसम्मको उचाइमा हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित ठाउँमा क्यामेरा राखिएको हो।
एक्यापले राखेको क्यामेरामार्फत हिउँ चितुवालगायत अन्य वन्यजन्तुको गतिविधि थाहा हुनेछ। क्यामेरामा वन्यजन्तुको श्रव्य दृष्य रेकर्ड राख्ने सुविधा रहेकाले हिउँ चितुवा र आहारा प्रजातिको खोजीमा सजिलो हुने कार्यालय प्रमुख गुप्तले बताए।
एक्यापले म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि साङ्ता हुँदै मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, जोमसोम लेंक र मार्फाको बतासे लेंक लगायतको उच्चस्थानमा हिउँ चितुवा र आहारा प्रजातिको संरक्षण तथा अनुगमन गर्न क्यामेरा राख्ने काम सुरु गरेको एक्याप जोमसोमका वन रेञ्जर दीपक ओलीले जानकारी दिए।
खोजीका लागि ४५ दिनसम्म क्यामेरा राख्ने व्यवस्था गरिएको वन रेञ्जर ओलीले बताए। यसरी खोजीका लागि राखिएका क्यामेरा पाँच किलोमिटरको दुरीमा राखिएको उनले बताए।
एक्याप जोमसोमले यसपटक हिउँ चितुवाको खोजीका साथै आहारा प्रजाति र हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ क्रसलाई क्यामेराबाट अध्ययन गर्ने जनाएको छ। "हिउँ चितुवा र चितुवाको बासस्थान एकै ठाउँमा छ कि छैन, हिउँ चितुवा कति तलसम्म झर्ने गरेको छ र चितुवाको कति माथिल्लो उचाइसम्म पुग्ने गरेको छ, त्यसको विवरण क्यामेराबाट अध्ययन गरिनेछ," वन रेञ्जर ओलीले भने।
क्यामेराबाट आहार प्रजातिको अवस्था कस्तो छ त्यसको विस्तृत अध्ययन हुने वन रेञ्जर ओलीले बताए। यसका साथै हिउँ चितुवाको दिशा सङ्कलन गरी परीक्षण गरी हिउँ चितुवाको वास्तविक तथ्य पत्ता लगाइने उनको भनाइ छ।
एक्यापले गतवर्ष उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा हिउँ चितुवा खोज्न धेरै क्यामेरा राखेको थियो। तल्लो मुस्ताङमा गत वर्ष आंशिक क्यामेरा राखिएकाले यस वर्ष विस्तृत रूपमा समेट्ने गरी खोजी सुरु गरिएको एक्याप जोमसोमले जनाएको छ।
एक्यापले यसरी हिउँ चितुवा तथा अन्य वन्यजन्तुको गतिविधिलाई क्यामेराबाट थाहा पाउने र मुस्ताङका उच्च क्षेत्रमा हुने चोरी शिकारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको छ। जिल्लाका उच्च क्षेत्रमा यार्सा टिप्ने सिजन सुरु भएकाले त्यहाँ हुने गलत क्रियाकलापलाई पनि क्यामेराले सघाउने जनाइएको छ।
एक्याप जोमसोमले सुरु गरेको हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणका लागि एक्याप वन रेञ्जर ओलीलगायत अन्य कर्मचारीहरू खटिएका छन्।