सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जना सदस्यले मकालु हिमालको सफल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् ।
विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका परिवारले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए । आरोहण गर्नेहरूमा मुक्कुट, उनका भाइहरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र मुक्कुटका २३ वर्षीया छोरी एनिमा शेर्पा रहेका छन् ।
बहिनी पासाङ याङ्जीका अनुसार एउटै बुबाआमाका पाँच छोराछोरीसहित ६ जनाले आरोहण गरेर कीर्तिमान राख्ने यो परिवार पहिलो भएको दाबी गरिएको छ । साथै, २३ वर्षीया एनिमा मकालु हिमाल आरोहण गर्नेमध्ये हालसम्मकै कान्छी महिला भएको पनि उनीहरूको दाबी छ ।
एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा र शेर्पा सङ्घले उक्त परिवारलाई सम्मानसमेत गरेको छ ।