८ असार २०८२ , आईतवार

समयअगावै सम्पन्न सिरहाको खानेपानी आयोजना, नागरिक लाभान्वित

News
७ असार, काठमाण्डौँ ।

सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ।

विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो। उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो।

निर्धारित समयसीमा अगाडीनै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिव शंकर महतोले बताए। नगरभित्रका अन्य खानेपानीको आयोजनाहरु लामो समय व्यतित हुँदा निर्माणाधिन अवस्थामै जीर्ण हुने गरेको जनाउँदै उनले भने, “मलाई त आश्चर्य लागेको छ। समयसीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो। अन्य निर्माणाधिन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकरात्मक सन्देश दिएको छ।” खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवित्तिले आम जनता वाक्क भएको अनुभूति आफूले गरेको उनको भनाइ थियो।

यस खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्नका लागि ‘डावरटोल नैनपुर टोल खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ले काम गरेको थियो। समितिका अध्यक्ष श्रवण ठकुरीले भने, “हामीले गत जेठमै काम सम्पन्न गरिसकेका थियौँ। जेठबाटै परीक्षणका रुपमा पानी उपभोक्तालाई वितरण गरिसकेका थियौँ। निरन्तरको सक्रियता, लगनशीलता र मिहिनेतले यो सम्भव भएको हो।” कूल रु १० करोड छ लाख ५८ हजार लागत रहेको यस आयोजनाबाट वडा नं १३, १२ र ११ का १ हजार ४४७ घरधुरीका ८ हजार ६४२ भन्दाबढी जनसंख्या लाभान्वित भएका जनाइएको छ। स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिनहरु अब सदाका लागि अन्त्य भएको छ।