कुनै समय सिन्धुलीका किसान १० हजार टन जुनार उत्पादन गरेर उत्साहित थिए। तर, सडक सञ्जालको अभावमा बजारसम्म पुर्याउन नसक्दा उनीहरुको उत्पादन बोटमै कुहिन्थ्यो। किसानले जुनारको फल उत्पादनले उत्साह पाउँथे तर बजारले निराशा दिन्थ्यो। बजार खोज्दै किसान डोकोमा जुनार बोकेर माडीबजारसम्म धाउँथे तर दिनै खर्चेर माडीबजार झार्दा पनि थोरै बिक्थ्यो, बाँकी सबै कुहिएर सकिन्थ्यो। शीतभण्डार (कोल्डस्टोर)को अभाव थियो।
विसं २०६३ मा सिन्धुलीको कमलामाई –४ दोभानटारमा जुनार शीतभण्डार भवन निर्माण थालियो र आवश्यक प्रक्रिया पूरा गरेर २०६७ सालमा शीतभण्डार सञ्चालनमा ल्याइएको जुनार केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए। तर उचित तवरले प्राविधिक व्यवस्थापन गर्न नसक्दा सञ्चालनको दुई वर्षमा रु २५ लाख नोक्सान व्यहोर्नुपर्यो।
विसं २०६९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनियाँ सरकारले खरिद गर्ने सम्झौता भयो। चीन सरकारको गुणस्तर सुपरीवेक्षण निरीक्षण र क्वारेन्टाइनसम्बन्धी सामान्य प्रशासन तथा नेपाल सरकारको कृषि विभागबीच सन् २०१२ मा नेपालबाट चीनतर्फ सुन्तला जातका फलफूल निर्यातका लागि सम्झौता भएपश्चात जिल्लामा उत्पादित जुनारलाई शीतभण्डारमा राख्ने र प्याकिङ गरेर पठाउने तयारी गर्न थालियो।
यसका लागि सिन्धुली उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार्य भयो। ‘पार्टनरसीप’मा जुनार उद्योग भवन निर्माण भयो। तर, उद्योग सञ्चालनका लागि आवश्यक मेसिन तथा औजार सामग्री जडान गर्नुका साथै आवश्यक व्यवस्थापन मिलाउन तीन वर्ष लाग्यो। उद्योग सञ्चालनमा ल्याउन सकिने अवस्था भएपछि जुनार किसानसँग प्रतिकेजी रु २५ का दरले उद्योगले जुनार किन्ने सम्झौता गर्यो तर रोग कीराको समस्या देखिएपछि उत्पादन घट्यो। उद्योगमा जुनार झनै आउन छाड्यो। सम्झौता नै हचुवामा भएकोले सिन्धुलीको जुनार चीन निर्यात हुन सकेन।
जुनार केन्द्रीय सहकारी सङ्घका अध्यक्ष कोइरालाका अनुसार जुनारमा देखापरेका रोग कीराका कारण दुई हजार बढी किसान जुनारखेतीबाट विस्थापित भएका छन्। त्यसअघि तीन हजार १०० किसान जुनारखेतीमा आबद्ध थिए। दश हजार टन जुनार उत्पादन हुने गरेकामा घटेर तीन हजार टनमा झरिसकेको उनको भनाइ छ। अहिलेको अवस्थामा बासेश्वर, नाकाजोली, तीनकन्याको माझकुभिण्डे, डुढेमालिङ्गे क्षेत्रबाहेकका स्थानमा जुनारखेती देखिन छाडेको उनले बताए ।
यो सँगै जिल्लामा उत्पादित जुनार चीनले नलिनु, जुनार उत्पादन कम हुनु, भएकामा मूल्य उच्च हुनु र आवश्यक कच्चा पदार्थ अभाव भएका कारण जुनार उद्योग सञ्चालनमा ल्याउन कठिन भइरहेको उनले बताए। सम्बन्धित निकायको बेवास्ताका कारण जापानिज दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार र नेपाल सरकारको थ्रिपिपी मोडेलअन्तर्गत निर्माण गरिएको जुनार उद्योग एक दशकअघिदेखि बन्द अवस्थामा छ। नेपाल उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ, एक उत्पादन’ परियोजनाअन्तर्गत पाँच कट्ठा क्षेत्रफलमा निर्माणाधीन उद्योग अगाडी बढाउन महासङ्घले नै हात झिकेपछि सरकारले दिने अरु रु दुई करोड रोकिँदा निर्माण रोकिएको थियो ।
जिल्लामा सञ्चालनमा आएको एकमात्र उद्योग लामो समयसम्म बन्द अवस्थामा रहँदा पनि सञ्चालनमा नल्याइएकामा स्थानीय नागरिक चिन्तित छन्। सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार क्षेष्ठले जिल्लालाई औद्योगिक केन्द्रका रूपमा विकास गर्न जुनार उद्योग सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए।
बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले जुनार उद्योगलाई पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए।
उद्योग सञ्चालन नहुनुमा नेतृत्व तहमा देखिएको समन्वयको कमी, प्राविधिक र प्रशासनिक व्यवस्थापनको कमजोरी र दीर्घकालीन योजनाको अभाव प्रमुख कारण देखिन्छ। तथापि, अहिलेको परिस्थितिमा सबै सरोकारवाला निकायको साझा सहकार्य, स्पष्ट जिम्मेवारी निर्धारण र पारदर्शी प्रणालीमार्फत उद्योगलाई पुनः सञ्चालनमा ल्याउने दिशा तय गर्न आवश्यक छ। यस उद्योगले पुनः गति लिनसकेमा स्थानीय किसानको उत्पादनलाई राम्रो बजार प्राप्त हुनुका साथै जिल्लाको समग्र आर्थिक तथा औद्योगिक समृद्धिमा टेवा पुग्ने छ।