१३ असार २०८३ , शनिबार

लोसपा उपाध्यक्ष शेखरकुमार सिंह: संविधान संशोधन गरी मधेसी समुदायको अधिकार सुनिश्चित गर्नुपर्छ

News
७ जेष्ठ, काठमाण्डौँ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित सिंहले देशको आर्थिक विकास नै अबको मुख्य मुद्दा हुनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभा सदस्य सिंहले युवाहरू देश निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै वैदेशिक रोजगारीका कारण गाउँहरू खाली हुँदै गएकोमा चिन्ता व्यक्त गरे । युवालाई स्वदेशमै रोक्न सरकारले युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

उनले देशमा सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित र पारदर्शी हुनुपर्ने बताए । सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीमा गरेको लगानी पारदर्शी हुनुपर्ने उनको भनाइ छ ।

मधेसी समुदायको मुख्य समस्या शिक्षा, स्वास्थ्य, रोजगारी र विकास भएको उल्लेख गर्दै अन्य प्रदेशको तुलनामा मधेस विकासमा पछि परेको उनले बताए । राज्यका निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा मधेसी समुदायको सहभागिता कमजोर रहेको उनको भनाइ छ । जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताए ।

सिंहले सङ्घीयता लोकतन्त्रको गहना भएको बताउँदै यसलाई अझ सुदृढ बनाउन सङ्घीयतासँग जोडिएका शिक्षा, निजामती र प्रहरी ऐनलगायतका कानुन बनाउन जरुरी रहेको बताए । सम्पूर्ण राजनीतिक दल मिलेर देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने र अबको मुख्य मुद्दा नै आर्थिक विकास बन्नुपर्ने उनको भनाइ छ ।