४ कार्तिक २०८२ , मंगलवार

सायल गाउँपालिका अब डिजिटल युगमा: ‘डिजिटल सायल’ एपमार्फत हातहातमै सरकारी सेवा

News
२४ असार, काठमाण्डौँ ।

डोटीको सायल गाउँपालिकाले आफ्ना नागरिकहरूलाई प्रविधिमार्फत सरकारी सेवा-सुविधामा सहज पहुँच पुर्‍याउने उद्देश्यले ‘डिजिटल सायल’ नामक आधिकारिक मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका सम्पूर्ण सूचना, जानकारी, र सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरी नागरिकको हात-हातमै पुर्‍याउन यो एप सार्वजनिक गरिएको हो ।

एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध यो एप गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । एप खोल्नासाथ गृह पृष्ठमा गाउँपालिकाको कुल जनसंख्या, क्षेत्रफल, वडा संख्या जस्ता आधारभूत विवरणहरू देखिन्छन्। नागरिकले अब गाउँपालिका अध्यक्षसँग सिधै कुराकानी गर्न, आफ्ना गुनासा राख्न तथा विकासका लागि सुझाव दिन ‘हेलो अध्यक्ष’ सुविधा प्रयोग गर्न सक्नेछन्। यसैगरी एपमा नागरिक वडापत्र, शाखागत जानकारी, सबै वडाहरूको प्रोफाइल, सूचना, राजपत्र, बजेट र सार्वजनिक खरिद जस्ता महत्वपूर्ण दस्तावेजहरू पनि उपलब्ध छन् । 
आकस्मिक अवस्थाका लागि सम्पर्क नम्बर, गाउँपालिकाका गतिविधि समेटिएका भिडियो र तस्बिरहरू समेत एपबाटै हेर्न सकिन्छ। हालै एपमा अध्यक्ष धर्म राज जोशीको ‘सायल गाउँपालिकालाई गुणस्तरीय शिक्षाको हब बनाउँछौँ’ भन्ने भिडियो सन्देश तथा ‘बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर अनिवार्य खोप लगाऔँ’ जस्ता जनहितका सूचना पनि राखिएको छ।
सायल गाउँपालिकाका सूचना प्रविधि अधिकृत चेतेन्द्र वीर कार्कीले एप सञ्चालनमा आएको केही समय भइसकेको र हाल यो मुख्यतया सूचनामूलक (Informative) रहेको बताए । “अहिले गाउँपालिकाका सबै गतिविधि र जानकारीहरू नागरिकले एपबाट तुरुन्तै पाउन सक्छन्। गाउँपालिकाको वेबसाइटमा कुनै सूचना राख्नेबित्तिकै एप प्रयोगकर्ताहरूलाई स्वतः पुश नोटिफिकेसन जान्छ, जसले गर्दा कोही पनि महत्वपूर्ण जानकारीबाट वञ्चित हुँदैनन्,” उनले भने।
सूचना प्रविधि अधिकृत कार्कीले एपलाई भविष्यमा थप परिष्कृत र अन्तरक्रियात्मक बनाउने योजना रहेको सुनाए। “हामी अहिले पहिलो चरणमा छौं। अब दोस्रो चरणमा यसलाई थप अन्तरक्रियात्मक (Interactive) बनाउने र धेरै नयाँ सुविधाहरू थप्ने योजना छ । सिफारिस, स्वास्थ्य कार्ड जस्ता सेवाहरू घरबाटै माग गर्न सकिने सुविधाको तयारी अन्तिम चरणमा छ र चाँडै सुरु हुनेछ,” उनले थप उल्लेख गरे ।
यो एपको विकासले स्थानीय तहमा सुशासन, पारदर्शिता र नागरिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सायल गाउँपालिकाको यो डिजिटल पहलकदमीले नागरिक र स्थानीय सरकारबीचको दूरी घटाउँदै सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउन कोसेढुंगा साबित हुने विश्वास लिइएको छ ।

एप डाउनलाेड लिंक (https://play.google.com/store/apps/details?id=com.anisoftsolutions.digital_sayal_app&hl=en )