सप्तरीको कल्याणपुरस्थित नेपाल बैंकको शाखामा भएको चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। खडक नगरपालिका-७ स्थित शाखामा गए राति १२:२० बजे सुरक्षा गार्डको कोठामा चोरी भएको थियो। सप्तरी प्रहरीले तत्काल अनुसन्धान थालेपछि एक जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, सिराहा प्रहरीले खडक नगरपालिका-६, बिरपुरका २० वर्षीय अपसाद अन्सारीलाई बिहान ३:४५ बजे लहानमा पक्राउ गरेको हो। अन्सारीको साथबाट चोरी भएका सामानहरू - स्क्यानर, ल्यापटप, खुकुरी, १२ बोरको बन्दुक, मोबाइल फोन र मोटरसाइकल बरामद गरिएको छ। बन्दुक झाडीमा लुकाइएको अवस्थामा फेला परेको थियो। सुरक्षा गार्ड ३९ वर्षीय प्रमोद चौधरी र ४४ वर्षीय पर्शुराम चौधरी कार्यरत थिए। घटनाको थप अनुसन्धान भइरहेको छ।