२३ बैशाख २०८२ , मंगलवार

युक्रेन युद्धमा सम्झौता गर्न रुस तयार, ट्रम्पको हस्तक्षेप

News
१२ बैशाख, काठमाण्डौँ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्को युक्रेन युद्धमा सम्झौता गर्न तयार रहेको बताएका छन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेपछि लाभरोभको यस्तो धारणा आएको हो।

सीबीएस न्यूजसँगको अन्तर्वार्तामा लाभरोभले सम्झौताका लागि केही विषयमा अझै छलफल गर्न बाँकी रहेको बताएका छन्। ट्रम्पका दूत स्टिभ विटकफ मस्कोमा पुटिनसँग युद्धविरामबारे वार्ता गर्ने तयारीमा छन्।

यसैबीच, ट्रम्पले युक्रेनको राजधानीमा भएको घातक हमलापछि पुटिनलाई सीधा हस्तक्षेप गर्दै आक्रमण रोक्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा ट्रम्पले रुसी हमलाबाट आफू खुसी नभएको बताएका छन्।

ट्रम्पले युक्रेनलाई पूरै कब्जा नगर्ने रुसको सर्तलाई ठूलो सहुलियतको रूपमा व्याख्या गरेका छन्। रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण गरेको थियो।