१३ बैशाख २०८३ , आईतवार

राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता

News
२८ जेष्ठ, काठमाण्डौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।

तामाङ पत्रकार सङ्घले राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्न मागसहित आज ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले राससमा तामाङ भाषामा समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका हुन्। “ढिलो चाँडो तामाङ भाषामा समाचार सेवा राससमा सुरु गर्छौँ”, मन्त्री गुरुङले भने।

राससमा हालसम्म नेपाली, अङ्ग्रेजी, नेपाल र मैथिली भाषामा समाचार सेवा प्रदान हुँदै आएको छ। सङ्घका अध्यक्ष नेत्र तामाङसहितको टोलीले मन्त्री गुरुङलाई भेट गरी ज्ञापनपत्र बुझाएको थियो।

बागमती प्रदेश सरकारले तामाङ भाषालाई बागमती प्रदेशको कामकाजी भाषा घोषणा गरेको एक वर्ष पूरा भइसकेको छ। नेपालको जनगणना २०७८ अनुसार नेपालमा तामाङ भाषा बोल्नेहरुको सङ्ख्या १४ लाख २३ हजार बढी छन्। शिक्षा, सञ्चार क्षेत्रमा यसको प्रयोग कम हुँदै गएकाले तामाङ भाषा बोल्नेको सङ्ख्या घट्दो छ।