१७ कार्तिक २०८२ , सोमबार

स्थानीय प्रविधि प्रवर्द्धन गर्न ‘टिग नास आईटी एक्सपो’ कात्तिकमा हुँदै

News
१७ कार्तिक, काठमाण्डौँ ।

नेपालमा स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘टिग नास आईटी एक्सपो २०२५’ आयोजना हुने भएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) को आयोजनामा उक्त एक्सपो आगामी कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नास आईटीका अध्यक्ष गौरव पाण्डेले यो एक्सपो पहिलो पटक आयोजना गर्न लागिएको जानकारी दिए। "एक्सपोले नेपालका आईटी कम्पनी, नेतृत्वकर्ता र लगानीकर्तालाई एउटै मञ्चमा ल्याएर सहकार्यको अवसर सिर्जना गर्ने र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सघाउनेछ," पाण्डेले भने।

त्यसैगरी, संस्थाका उपाध्यक्ष दिपेन चापागाईंले एक्सपोका लागि आईटी र व्यावसायिक समुदायबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए। उनले सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्न एक्सपो एक कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे।

नास आईटीकी महासचिव एलिसा श्रेष्ठले एक्सपोलाई प्रदर्शनीको रूपमा नभई नेपाली आईटी प्रतिभा र व्यावसायिक अवसरबीचको पुलका रूपमा विकास गरिएको बताइन्।

के छन् एक्सपोका आकर्षण?

एक्सपोमा ३० भन्दा बढी आईटी सेवा तथा उत्पादनहरूको प्रदर्शनी रहनेछ। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल रूपान्तरणमा केन्द्रित रहने एक्सपोमा अवलोकनकर्ताका लागि विशेष अफरहरूको व्यवस्था गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा कम्पनीहरूले आफ्ना नयाँ डिजिटल समाधानहरू सार्वजनिक गर्नेछन् भने ‘लाइभ पिच सेसन’ मार्फत आफ्ना नवीन सोच प्रस्तुत गर्ने अवसर पाउनेछन्।
एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता र सूचना प्रविधिमा रुचि राख्ने सबैलाई लक्षित गरिएको छ। अवलोकनका लागि प्रवेश निःशुल्क हुने र त्यसका लागि अनलाइन टिकट लिन सकिने नास आईटीले जनाएको छ।

दुई दिने कार्यक्रमको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर ‘टिग’ रहेको छ। त्यसैगरी, सिल्भर प्रायोजकमा इसेवा तथा अन्य सहयोगीमा र्‍यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड रहेका छन्। कार्यक्रमको दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किड कलेज रहेका छन्।