म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सात वटा बहुवर्षीय सडक आयोजनाको निर्माण बजेट अभावका कारण ठप्प भएको छ। गत चैत महिनादेखि सडक निर्माणको काम रोकिएको हो।
गत वर्ष म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो। अर्थ मन्त्रालयले रु एक अर्ब २० करोड बजेटको व्यवस्था गरेको थियो। तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत वर्ष ठेक्का सम्झौता भएका तीन आयोजनामा यस वर्ष रु एक करोड ५० लाखदेखि दुई करोड मात्र बजेट आएको थियो।
सरकारले बजेटको व्यवस्था गरेर पनि धेरै वर्ष लाग्ने योजनाका लागि पर्याप्त बजेट नदिएका कारण निर्माण प्रभावित भएको गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताए।
विभिन्न निर्माण कम्पनीहरूले चैतसम्म काम गरिरहेका थिए। तर, सरकारले बजेट नदिएका कारणले काम रोकिएको छ। अब नयाँ आर्थिक वर्ष नलागेसम्म काम सुरु हुने सम्भावना छैन। बेनी–पाखापानी, बेनी–दरवाङ, धारापानी–ताकम–शिवाङ, अदिभारा–डाडागाउँ, पखेर–बङ्जा, बगरफाँट–भकिम्ली सडक आयोजना पूर्ण रुपमा बन्द छन्।
खारा–बिम सडक र शिवरात्रिखोला मोटरेबल पुलका ठेकेदारले कामको गति घटाएका छन्। चित्रे–घोडेपानी सडक र दरखोला मोटरेबल पुल योजनाका ठेकेदारले निर्माण सुरु नै गरेका छैनन्।
पूर्वाधार विकास कार्यालय म्याग्दीले चैतमा बहुवर्षीय योजनाहरुका लागि मन्त्रालयमा रु १३ करोड ९० लाख थप बजेट मागेको थियो। बेनी–दरवाङ सडकको तेस्रो खण्डका ठेकेदारलाई मात्र रु एक करोड भुक्तानी भएको छ।
पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले बजेट सकिएकाले निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको बताए।
अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गत असारमै काम सके पनि अझै भुक्तानी पाएका छैनन्। अदिभारा मोटरेबल पुलका ठेकेदारले भने बजेट सकिए पनि निर्माणलाई पूरा गर्ने उद्देश्यले काम गरिरहेका छन्।
पखेर–बरङ्जा सडक योजनाका निर्माण व्यवसायी जीवन रोकायाले सरकारले बजेटको व्यवस्था गर्न नसकेपछि निर्माण स्थगित गरेको बताए।