२८ बैशाख २०८२ , आईतवार

रिब्दीकोट–१ ख्याहाले एकल महिला–पुरुषलाई सम्मान, नगदसहित हौसला प्रदान

News
२८ बैशाख, पाल्पा ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला तथा पुरुषलाई सम्मान गरेको छ। वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सिर्जना गर्ने उद्देश्यले १५ जना एकल महिला तथा पुरुषलाई नगद रु पाँच हजारसहित सम्मान गरेको हो।

विवाह नगरी बसेका ३५ वर्षभन्दा माथि उमेरका महिला र ४० वर्षभन्दा माथिका पुरुष, साथै विवाह भई श्रीमान् गुमाएका ६० वर्षभन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० वर्षभन्दा कम उमेरका एकल पुरुषलाई सम्मान गरिएको रिब्दीकोट–१ का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए।

जोगीथुमका केशव कुमालले भने, “श्रीमतीको १४ वर्षअघि मृत्यु भयो, छोराछोरीको हेरचाहका लागि दोस्रो विवाह गरिनँ, अहिले न छोराछोरीले हेरे, न त आफन्त र सरकारले नै, वडा कार्यालयबाट हामीजस्ता दुःख पाएका व्यक्तिलाई नगदसहित सम्मान गरेकामा खुसी लागेको छ।”

वडाले आफूहरूलाई सम्मान गरेकामा मन खुसी भएको बन्दना सुनारले बताइन्। उनले भनिन्, “मेरा कुनै दाजुभाइ छैनन्, म बाबुआमालाई पालेर बसेकी थिएँ, बाबुआमाको मृत्युपछि म एकल जीवन बिताउँदै आएकी छु। एकल रूपमा भए पनि समाजमा आफ्नो काम गरेर जीविकोपार्जन गरेकी छु।” उनले सम्मानस्वरूप पाएको रकमले औषधोपचार तथा आपत् विपद्मा खर्च गर्ने बताइन्।

वडा कार्यालयबाट गाउँमा बसेका जनतासँग जोडिने काम भएको एकल महिला शारदा सुनारले बताइन्। उनले राज्यबाट कहीँकतैबाट सम्बोधनमा नपरेका हामीजस्ता एकल महिला–पुरुषलाई वडाले सम्मान गरेर हौसला बढाएको जनाउँदै एकल महिला तथा पुरुषको विषयमा सङ्घीय सरकारले समेत नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन्।