८ असार २०८२ , आईतवार

गणतन्त्र वैज्ञानिक सिद्धान्तमा आधारित उत्कृष्ट शासन व्यवस्था : मुख्यमन्त्री कार्की

News
१५ जेष्ठ, काठमाण्डौँ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली वैज्ञानिक सिद्धान्तमा आधारित उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन्।

प्रदेश सरकारद्वारा गणतन्त्र दिवस–२०८२ को उपलक्ष्यमा आज यहाँ आयोजित पत्रकार सम्मान तथा निबन्ध प्रतियोगितामा उत्कृष्ट हुन सफल सहभागीहरुलाई पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले विद्यमान लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताएका हुन्।

उनले पूर्वराजाका नाम भजाइ जन्मजात एवं वंशीय शासन प्रणालीका पक्षमा भ्रम सिर्जना गर्ने काम भइरहेकामा आपत्ति व्यक्त गर्दै उहाँले आफ्ना लागि आफैँले चुनेका जनप्रतिनिधिमार्फत शासन व्यवस्था सञ्चालन हुनपर्दछ भन्ने पक्षमा अहिले नेपाली जनता रहेको स्पष्ट गरेका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हल्ला र भ्रमका भरमा लोकतान्त्रिक शासन व्यवस्था कमजोर नहुने धारणा व्यक्त गर्दै यसअघिका असहज परिस्थितिमा जस्तै लोकतन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा कलम चलाउन सञ्चारकर्मीको ध्यानाकर्षण गरे।

प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, आन्तरिक मामिला तथा तथा कानुनसचिव रामप्रसाद आचार्य, नेपाल पत्रकार महासङ्घ कोशीका सभापति भरत खड्का र मोरङ जिल्ला अध्यक्ष सुशीला पाठकसहित सम्मानित व्यक्तित्व चिन्तामणि दाहाल र यशोदा सेनेलगायतले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प नरहेको धारणा व्यक्त गरेका थिए।