११ जेष्ठ २०८२ , आईतवार

हुम्लाको लिमीका बाढीपहिरो पीडितलाई राहत पुग्यो, प्रदेश सरकारले पठायो सामग्री

News
११ जेष्ठ, काठमाण्डौँ ।

 हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री पुगेको छ।

प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, टेन्ट, म्याट्रेस सेटलगायतका सामग्री प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामालाई हस्तान्तरण गरेका छन्। सडक निर्माणका कारण सामग्री सिधै सदरमुकाम सिमकोटमा पुर्‍याउन नसकिएपछि बोक्चेगौडामा पुगेर बुझिएको थियो।

बोक्चेगौडा भिरमा सुरक्षाकर्मीले भारी बोकेर सामग्री ओसारेका थिए। यही जेठ १ गते राति गाउँभन्दा माथिबाट आएको बाढीपहिरोले तिल गाउँका १९ परिवारका ३३ जना विस्थापित भएका छन्। उनीहरू अहिले त्रिपालमुनि बस्दै आएका छन्।

बाढीपहिरोको अनुसन्धान तथा अवलोकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली अहिले उक्त स्थानमा रहेको छ।