सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ बमोजिम रामेश्वर चौधरीलाई आज मन्त्रीमा नियुक्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्री चौधरीलाई आजै साँझ आफ्नै कार्यालय धनगढीमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराए। शपथग्रहण समारोहमा मुख्यमन्त्री शाह, अन्य मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति थियो।
मन्त्री चयनको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र विवाद देखिएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर, संसदीय दलको बैठकले अध्यक्षको निर्देशनविपरीत संसदीय दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो। घनश्याम चौधरी मन्त्री बन्न इच्छुक नभएपछि आजै बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो।
संसदीय दलमा उत्पन्न विवादका सन्दर्भमा दलका प्रमुख सचेतक इन्दिरा गिरीले दलमा विवाद हुने र सहमति खोजेर अघि बढ्ने बताइन्। विवादास्पद 'अडियो' सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोर चौधरीले गत चैतमा पदबाट राजीनामा दिएका थिए।
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका सात सदस्य छन्। अन्य दलहरूमा नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन्।