अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन्। उहाँले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए।
“मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ। तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ। यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ। चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भने।
अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे। विशेषतः उनले अभिनय गरेका दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त भए।
“कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइनँ। त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ। यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु”, अभिनेता हमालले भने।
निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए। “अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन। उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु। हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’ लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भने।
उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन्।
चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएका छन्। नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन्।